हेटौंडा– हेटौंडा उपमहानगरपालिका–४ मा रहेको रेडियो थाहासञ्चारको वार्षिक उत्सवको अवसरमा ‘मकवानपुरगढी गाँउपालिकाको बालमैत्री स्थानीय शासन नीतिगत अवलम्वन तथा घोषणा अभियानमा साईकल र्याली आयोजना भएको छ । रेडियोको १३ वर्ष पुरागरी १४ औ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित साताव्यापी कार्यक्रमको पहिलो दिन आज मकवानपुरगढी गाउँपालिकाको सहयोग, हेटौंडा राइडर्स क्लव, सानिमा लाइफ इन्सुरेन्स, वियन्सा सप्लायर्सको सहकार्यमा रेडियो परिसरबाट सुरु भएको साइकल र्याली मकवानपुरगढी वडा नम्बर ६, डुम्रेकुनामा पुगेर अन्तरक्रिया गरिएको थियो ।

रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा मकवानपुरगढी गाउँपालिकाले सन्चालन गरिरहेको बालमैत्री अभियानका विषयमा छलफल गरिएको थियो । अन्तरक्रियामा प्रमुख अतिथि पालिका अध्यक्ष हुमागाईंले मुलुकलाई समृद्व बनाउन बालमैत्री स्थानीय शासन पद्घति अबलम्बनबाट सघाउ पुग्ने बताउनुभयो । अध्यक्ष हुमागाईंले बालमैत्री गाउँपालिका घोषणाको तयारीमा आफूहरु लागिरहेका बेला रेडियो थाहासन्चारसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा रेडियोसंगको सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्घता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा रेडियोका सन्चालक अरुणराज सुमार्गी, मकवानपुरगढी गाँउपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, कांग्रेस मकवानपुरका जिल्ला सदस्य अर्जुन दाहाल, रेडियोका स्टेशन म्यानेजर मणिराज गौतम, रेडियोका सन्चालक अङ्किता सुमार्गीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । फागुन १ गते आजबाट सुरु भएको साताव्यापी कार्यक्रम फागुन ७ गते समापन हुनेछ । साताव्यापी कार्यक्रमको दोस्रो दिन भोलि फागुन २ गते रुपचन्द्र विष्ट र थाहा आन्दोलनको मर्म विषयक अन्तरक्रिया कार्यक्रम, फागुन ३ गते हेटौंडाको बुद्धचोकमा विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म रक्तदान, फागुन ४ गते मनहरी गाउँपालिका –४ मसिने गोलघरमा व्यवसायिक माछापालनको प्रबर्दनमा गाउँपालिकाको भुमिका विषयक अन्तरक्रिया, फागुन ५ गते सवारी दुर्घटना न्यूनिकरण, कानूनी व्यवस्था र नागरिकको दायित्व विषयक माविस्तरिय वक्तृत्वकला प्रतियोगिता, फागुन ६ गते हेटौंडा भेट्रान्स र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल हुने रेडियोका स्टेशन म्यानेजर गौतमले जानकारी दिनुभयो ।