हेटाैंडा । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले आगामी १८ गतेबाट सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ । हेटौंडामा आजबाट सुरु भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको १४औं जिल्ला अधिबेशनमा बोल्नुहुँदै मुख्य सचेतक बर्तौलाले शिक्षा विधेयक आगामी अधिवेशनबाट नै पारित गराएर जाने सोचमा रहेको बताउनुभयो ।

“हामी सबै प्रकारका शिक्षक कर्मचारीका माग सम्बोधन हुने गरि आगामी हाउसबाट नै विद्यालय शिक्षा विधेयक पास गराएर जाने सोचमा छौं ।” उहाँले भन्नुभयो । उहाँले शिक्षा विधेयक राष्ट्रिय महत्वको विधेयक भएको वताउनु भयो । उहाँले हरेक शिक्षकहरुमा अधिकार संगसंगै जवाफदेहिता हुनुपर्ने बताउनुभएको छ । उहाँले एउटा शिक्षक विद्यालय जान घरबाट निस्कदै गर्दा आफुसंगै आफ्ना नानी बाबू विद्यालय लैजान सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
उहाँले शिक्षकहरु स्थानीय तहमा बस्न खोजिरहेका छैनन् भन्ने बिषय पनि बाहिर उठेको बताउनुभयो । उहाँले स्थानीय तहको नेतृत्वले यातना दिने मानसिकताको कारणले गर्दा शिक्षकहरु स्थानीय तह अन्तर्गत बस्न नखोजेको बताउनुभयो । यस्तै केही स्थानीय तहमा शिक्षकहरुलाइ संगठनमा संगठित भएकै कारण पनि सरुवा गरेर दुःख दिने गरेको पाईएको भन्दै संबिधानले निर्दिष्ट गरेका व्यवस्थाहरु उपयुक्त भएपनि नेतृत्वको कार्यशैलीका कारण यस्तो भइरहेको हुँदा यस्ता कुरालाई पनि विद्यालय शिक्षा विधेयकले समेट्नु पर्ने बताउनुभयो । उहाँले हिजो सिंगो व्यवस्था परिवर्तनको आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गर्ने संगठनहरु अहिले पनि उत्तिकै ससक्त हुन जरुरी भएको वताउनुभएको छ । संगठनका अध्यक्ष श्रीराम दहालको सभाध्यक्षता तथा संगठनका केन्द्रीय महासचिव हंश बहादुर शाहीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।