हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्देश्य नमिलेका केही व्यक्तिहरूले छोडेर गएपछि पार्टी गतिशील बनेको बताउनुभएको छ । नेकपा लुम्बिनी प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संसद्बाट सर्वसम्मतिका साथ नयाँ नक्सा अनुमोदन भएपछि केही व्यक्तिहरू आत्तिएर यस्तो अवस्था भएको बताउनुभयो ।

२०७२ सालमा पनि आफ्नो नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै ढालिएको स्मरण गराउनुहुँदै प्रधानमन्त्री ओलीले यसपालि पनि त्यस्तै ढाल्ने प्रयत्न पार्टीभित्रबाट हुन थालेपछि जनताका बीचमा जाने फैसला लिनुपरेको बताउनुभयो । अमुक व्यक्ति प्रधानमन्त्री वा अध्यक्ष बन्नकै लागि आफूलाई हटाउन खोजिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । तीन वर्षदेखि संवैधानिक आयोग बन्न सकेका थिएनन् उहाँहरू हटेपछि आयोग बने, पार्टी हल न चल भएको थियो, अहिले पार्टी गतिशील भयो पार्टी अध्यक्ष ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले बुटवलको जनसभामा देखिएको जनसहभागिताले पार्टीको आधिकारिकता पुष्टि गरेको बताउनुहुँदै पार्टीभित्रका केही व्यक्ति मात्र बाहिरिएको र त्यसबाट पार्टी अब झन् एकताबद्ध र बलियो बनेको बताउनुभयो ।