मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले धार्मिक क्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । शनिबार हेटौंडा–१३ मा निर्माण हुन लागेको टासि छ्योलिङ्ग गुम्बाको शिलान्यास गर्नुहुँदै प्रमुख खुलालले हाम्रा धार्मिक सम्पदाहरुलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो ।

२०७२ सालको भुकम्पका कारण क्षती भएको उक्त गुम्बा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्धारा करीब १ करोड १५ लाखको लागतमा निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रममा प्रमुख खुलालले धार्मिक क्षेत्रहरुको पर्यटन प्रबद्र्धन गर्नुपर्नेमा जोड दिँदै त्यसले आर्थिक उपलब्धी हासिल गर्न सकिने बताउनुभयो ।

उहाँले धार्मिक सम्पदाहरुलाई पर्यटन क्षेत्रको रुपमा बिकास गर्न आग्रह गर्दै हरेक क्षेत्रमा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले सबैको चाहना समृद्धि भएको भन्दै सकारात्मक भएर लाग्न आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारको लगानीमा गुम्बा निर्माण भईरहेको भन्दै यसमा सबैको नीग्रानी हुनुपर्ने समेत बताउनुभएको छ ।

गुम्बाकी अध्यक्ष लक्ष्मी माया थिङ्को सभाध्यक्षतामा भएको कार्यक्रममा १३ नम्बर वडा अध्यक्ष मनोजकुमार वाईवा, गुम्बा बिहार महासंघका केन्द्रिय सदस्य दिपक सिन्तान, उपभोक्ता समितिका पदाधिकारीहरु, गुम्बाका लामाहरुको समेत उपस्थिती थियो । गुम्बा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत उपभोक्ता समितिको ३० प्रतिशत र प्राधिकरणको ७० प्रतिशत लागतमा निर्माण हुन लागेको हो ।