हेटाैंडा– पूर्वी मकवानपुरको बकैया गाउँपालिकालाई जिल्लाको दोस्रो ‘बालमैत्री’ गाउँपालिका घोषणा गरिने भएको छ । शनिबार गाउँपािलकामा पत्रकार सम्मेलनको आयोजना गरेर बालमैत्री घोषणाको सम्पूर्ण तयारी पूरा भएको र आगामी माघ २९ गते घोषणा गरिने गाउँपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभएको हो ।
पालिकाकाले बालमैत्री स्थानीय शासनका ३९ सूचकमध्ये १९ वटामा सत्प्रतिशत र २० वटा सूचकमा ९८ प्रतिशत सफलता प्राप्त गरेको उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमति प्रदान गरेसंगै पालिकालाई बालमैत्री घोषणा गर्न लागिएको उहाँले बताउनुभयो । गाउँपालिकाको सबै वडामा अनुगमन पचात जिससको ७२ औं बोर्ड बैठकले बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
बकैया गाउँपालिका मकवानपुर जिल्लाको दोस्रो बालमैत्री स्थानीय तह घोषणा हुने भएको छ । यसअघि मकवानपुरको मनहरी गाउँपालिका देशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा भइसकेको छ । पालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्न अघिल्लो वर्ष ५० लाख र यस वर्ष ८० लाख बजेट छुट्याएको पालिका उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीलगायत बालमैत्री सहजकर्ता, बाल क्लब, बाल संजाललगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।