मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित बाढी प्रभावित नयाँबस्ती (ट्वाङ्ग्रा) का नागरिकले सुरक्षित र दीगो आवासको व्यवस्था मिलाई दिन आग्रह गरेका छन् । बुधबार राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्राविधिकसहितको टोलीको अनुगमनका क्रममा बाढी प्रभाबित चेपाङ÷तामाङ समुदायले सुरक्षित र दीगो आवासको व्यवस्था मिलाइदिन माग गरेका हुन् ।
२०७४ साल साउन २७ र २८ गतेको बाढीको कारण घरबार बिहिन बनेका लाम्पाखा, चुवारपाखा, अजिंगरे, चिसापानीलगायत बस्तीका उनीहरु अहिले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स–साना घर तथा टहरो बनाएर बसोबास गर्दै आएका छन् । उनीहरुलाई निकुञ्जले वन क्षेत्र अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन बारम्बार दबाब दिने गरेको छ । मध्येवर्ती क्षेत्रको वनमा अतिक्रमण गरेर बस्ती बसालेको कारण उनीहरु सरकारको सेवा सुविधाबाटसमेत बञ्चित हुनुपरेको छ । भुकम्पको लाभग्राही सूचिमा परेका ट्वाङ्ग्रा वासी वन क्षेत्रमा बसोबास गरेका कारण भवन निर्माणका लागि सम्झौता गरे पनि दोस्रो किस्ता प्राप्त गर्न सकेका छैनन् । गाउँपालिकाले बारम्बार विभिन्न निकायमा प्रयास गरेपनि करीब १४३ परिवारको बारे निक्र्यौल निस्कन भने सकेको छैन् । भुकम्पको लाभग्राही सूचिमा परेर पहिलो किस्ता समेत बुझिसकेका उनिहरुको दोस्रो किस्ता सिफारीसमा समेत समस्या भएको उगाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । दोस्रो किस्ता अनुदान पाउनका लागि कानूनी अड्चनका कारण सिफारिस गर्न समस्या भएको उहाँले बताउनुभयो ।
जंगलको बीचमा बसेको उनिहरुले अनुगमन टोलीसंग अस्थायी बस्तीलाई स्थायी बसोबासको व्यवस्था मिलाइदिन माग गरेका छन् । तर, निकुञ्ज प्रशासनले कुनैपनि हालतमा बस्ती उठाउनु पर्ने बताउँदै आएको छ । बस्तीको स्थायित्वको टुंगो नलाग्दा गाउँपालिकाले उक्त क्षेत्रको बस्ती विकास गर्न समेत सकेको छैन् । बस्ती विकास गर्न गाउँपालिकाले बजेट विनियोजन गरेको भएपनि कानूनी जटिलताका कारण रकम खर्च गर्न नसकिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । गाउँपालिकाले यही बस्तीलाई बैज्ञानिक रुपमा व्यवस्थित गरेर बस्ती स्थायित्वको लागि सरोकारवाला निकायमा आग्रह गरेको भए पनि निकास भने निस्कन नसकेको उहाँको भनाई छ ।
मनहरी–४ स्थित ट्वाङ्ग्राको सिरानमा रहेको बाढी पिडीत बस्तीको अनुगमनका क्रममा जिसस प्रमुख रघुनाथ खुलालले उक्त बस्तीको समस्यालाई निकास दिनुपर्ने बताउनुभयो । उहाँले छिट्टै नै जिल्ला सहजिकरण समितिको बैठकबाट प्राधिकरणमा सिफरीस गर्ने भन्दै समाधानका लागि पुननिर्माण प्राधिकरण टोलीसंग अनुरोध गर्नुभयो । सो क्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकारी समितीका सदस्य डाक्टर चन्द्रबहादुर श्रेष्ठले विषय जटिल भएको बताउनुभयो । थुप्रै स्थानहरुमा यस्ता समस्याहरु समाधान भएको भन्दै उहाँले यो विषयलाई पनि समाधान गर्न प्रयास गर्ने बताउनुभयो । उहाँले प्राधिकरणमा यस विषयमा छलफल गरेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का प्रमुख तुलसीराम खरभुजा, (शिक्षा) का प्रमुख बद्री पाठक, अनुदान व्यवस्थापनका कर्मचारी, मनहरी –४ का वडाअध्यक्ष धु्रव खड्का, पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी लगायतको सहभागिता थियो ।