मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले निजी आवास पुनर्निर्माणको काम लम्ब्याउन नहुने बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा निजी आवाससहित पुनर्निर्माणका चालू कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनसम्बन्धमा बुधबार हेटौँडामा आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमका क्रममा उहाँले निजि आवासको काम सम्पन्न गर्दै अगाडी बढ्नु पर्ने बताउनुभयो ।

प्रमुख खुलालले निजी आवास पुनर्निर्माणको कामका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई अब लम्ब्याउन नहुने बताउनु भयो । उहाँले जटिलताका बीच पुनर्निर्माणको काम सुरु भएको चर्चा गर्दै निजी आवास पुनर्निर्माणको क्रममा कोही कसैलाई अन्याय भएको भएमा तीन तहको सरकार छन् उनीहरुले न्याय दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारिणी समितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणका काम प्राधिकरणले तोकेको समयमा पूरा गर्नै पर्ने बताउँदै भवन निर्माण मापदण्ड पूरा गर्ने कुरामा सम्झौता हुन नसक्ने बताउनुभयो । उहाँले निजी आवासका लागि तोकिएको मापदण्ड सुरक्षित नेपाल निर्माणको लागि भएको भन्दै सबै जिल्लामा विद्यालयलाई बजेट अभाव रहेकोले रकमान्तरपछि प्राप्त हुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुगमन, व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मकवानपुरका प्रमुख विमल किशोर केपी, कार्यान्वयन एकाई (भवन ) का आयोजना प्रमुख तुल्सीराम खर्बुजा र कार्यान्वयन एकाई (शिक्षा ) का प्रमुख बद्री पाठकले जिल्लामा भएको समग्र पुनर्निर्माणको प्रगति विवरण राख्नुभएको थियो ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले निजी आवास पुनर्निर्माणमा अझै समस्या रहेकोले समय सीमा थप गर्न माग गर्नुभएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँ, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे र राक्सिराङ गाउँपालिकाका लेखा अधिकृत राजेन्द्र भट्टराइले निजी आवास पुनर्निर्माण देखिएका समस्याहरु बरेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी गाेविन्दप्रसाद रिजाललगायत स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतलगायत पुनर्निर्माण प्राधिकरण सम्बन्धी कार्यालयका कर्मचारीहरूकाे उपस्थिती थियाे ।