हेटौँडा- भारतको कल्याणीमा जारी पाँचौं संस्करणको १५ वर्षमुनिको पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले शुक्रबार पहिलो जित हात पारेको छ । भारतको कल्याणीमा शुक्रबार भएको खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो ।
नेपालको जितमा शशांक बोहोरा र अशिम राईले एक÷एक गोल गरे । पहिलो खेलमा भारतसित ५–० ले हारेको नेपालले दुई खेलबाट ३ अंक जोडेको छ । श्रीलंकाले पहिलो खेलमा भुटानलाई ३–२ ले हराएको थियो । जितसँगै नेपालको फाइनल खेल्ने सम्भावना कायमै रहेको छ । नेपालसहित भारत, श्रीलंका, साविक विजेता बंगलादेश र भुटानबीच ‘राउन्ड रोबिन लिग’का आधारमा जारी प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।