मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले स्थानियतह स्तरीय फुटबल प्रगियोगिता आयोजना गर्ने निर्णय गरेको छ । आईतबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ७२ औं बोर्डले १० वटै स्थानिय तहहरुको सहभागिता हुने गरि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्ला समन्वय समितिको आयोजना एवम् जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । स्थानीय स्तरमा फुटबलको विकास गर्ने, नयाँँ खेलाडि उत्पादन गर्ने तथा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडि छनोट गर्न समेत मद्धत पुग्ने उदेश्यका साथ जिल्ल स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । प्रतियोगिताको सम्पूर्ण आर्थिक व्यवस्थापन आयोजकले गर्ने र व्यवस्थापकिय पक्ष जिल्ला खेलकुद विकास समितिले गर्ने प्रमुख खुलालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले जिल्ला समन्वय समिति मकवानपुरले सञ्चालन गर्न लागेको व्यवसाय सम्बद्र्धन केन्द्र सम्बन्धी काम कारबाही अगाडी बढाउने निर्णय गरेको छ । बैठकले अवधारणापत्र तयार पारेर छलफलमा रहेको केन्द्रको काम कारबाही अगाडी बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यस्तै बैठकले मानव सेवा र बालबालिकाको क्षेत्रमा काम गरिरहेका विभिन्न संघ संस्थाहरुको अनुगमन गर्ने, जिल्ला स्थित विभिन्न स्थानीय तहमा केन्द्र, प्रदेश र स्थानीय तह तथा जिससको लगानीमा सञ्चालित आयोजनाहरुको अनुगमन गर्ने, तत्कालिन जिविसद्धारा हेटौंडा–६ स्थित कर्रा खोलामा लगाईएको बेलीब्रिज बकैया गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । कर्रा खोलामा पक्की पुल निर्माण पछि उक्त बेलीब्रिज निकालिएकोमा उक्त ब्रिज गाउँपालिकाद्धारा माग भइआएकोले हस्तान्तरण गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, गणेशकुमारी प्रधान, सिता अधिकारी, सरिता विक, चित्र बहादुर बलामी, बुद्धिबहादुर मोक्तान, सानोकान्छी स्थाङ्तान, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत कार्यालयका अन्य कर्मचारीहरुको उपस्थिती थियो ।