काठमाण्डाै – फिफा वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।
नयाँ वरीयतामा नेपाल १ सय ६७ औँ स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औँ स्थानमा रहेको थियो । नेपालले घरेलु मैदान दशरथ रङ्गशालमा मरिसससँग भएको दुई मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो । नेपाल दक्षिण एसियाली देशको वरीयतामा तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ४ औँ स्थानमा रहेको छ भने माल्दिभ्स १ सय ५७ औँ स्थानमा छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् छ । यस्तै दाेस्राेमा ब्राजिल, तेस्राेमा फ्रान्स, चाैथाेमा अर्जेन्टिना र पाँचाैँमा इङ्ग्ल्यान्ड रहेका छन् ।