मकवानपुर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान ओलि सरकारले एकलौटि शासन गर्न खोजेको आरोप लगाउनुभएको छ । सोमबार नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा आयोजना गरेको सरकार विरोधी प्रर्दशनलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले वर्तमान सरकारले एकलौटी सर्वसत्तावाद ल्याउन खोजिरहेको आरोप लगाउनुभएको हो ।

उहाँले अहिलेको कम्युनिष्ट सरकारले एकदलिय शासन व्यवस्था लागू गर्न खोजेको कारण देशमा राजा आउ भन्ने नाराहरु सुनिन थालेको भन्दै नेपाली कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद नआउने दावि समेत गर्नुभयो । जनताले स्वतन्त्र र लोकतन्त्रका लागि लडेकाले कांग्रेस रहुञ्जेल त्यो सम्भव नरहेको उहाँको भनाई थियो । वर्तमान सरकारकै कारण भ्रष्टाचार, बलात्कार जस्ता घटना बढिरहेको भन्दै भ्रष्टाचार, बलात्कार जस्ता विकृतिको अन्त्य र सर्वसत्तावादको विरुद्धमा कांग्रेस सडकमा उत्रिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना सङ्क्रमणका बेला जनताले उपचार नपाएको, कोरोना परीक्षण नबढाएको तथा महामारी नियन्त्रण भन्दा पार्टि र कुर्सिको लडाइमा सरकार फसेको बताउनुभयो । देश भ्रष्टाचारको दलदलमा फस्दा समेत प्रधानमन्त्री ओली भ्रष्टाचार भएको छैन भन्दै भ्रष्टाचारलाई नै प्रवर्धन गरिरहेको शर्माको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ लगायतले सरकार जनताको हितमा खटिनु पर्ने समयमा आफ्नै स्वार्थमा डुबेकाले जनताको पक्षमा कांग्रेस सडकमा उत्रिएको बताउनुभयो । उहाँहरुले नेपाललाई कोरोना र कम्युनष्टि सरकार मुक्त बनाएरै छाड्ने दावि समेत गर्नुभएको छ । विरोध सभा अघि हेटौंडाको सानोपोखरा, चौकीटोली, जिल्ला प्रहरी कार्यालय चोक र फरेष्ट्री चोकबाट ¥याली निकालिएको थियो ।