हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मुख्यमन्त्री डोरमणी पौडेललाई प्रदेशभर स्वास्थ्य सामग्री पुग्ने वातावरण मिलाउन आग्रह गर्नुभएको छ । कोरोनाविरुद्धको अभियानलाई प्रभावकारी बनाउने विषयमा शनिबार राति टेलिफोन सम्वाद मार्फत संघीय सरकारले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री र प्रदेश सरकारसंग रहेको सामग्रीसमेत प्रदेशभरका सबै जिल्लाका स्वास्थ्य इकाईमा पुर्याउन सुझाव दिनुभयो ।
उहाँले आवश्यक पर्दा हेलिकप्टरको प्रयोग गर्न समेत सुझाव दिए । मानतामाथिको प्रहारको रुपमा देखिएको कोरोना संक्रमणलाई पराजित गर्न दलीय स्वार्थभन्दा माथि उठेर प्रदेश सरकारलाई सहयोग गर्न नेपाली कांग्रेस तत्पर रहेको बताउँदै नेता बानियाँले प्रदेश सरकारको सक्रियाताको खाँचो औल्याउनुभयो । सबै तहका व्यक्तिमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै उहाँले उपचारमा संलग्न स्वास्थ्यकर्मी, सरकारका विभिन्न निकाय, नागरिक समाज, सर्वसाधारण सबै सावधानीपूवर्क अभियानमा जुट्नुपर्ने बताउनुभएको छ । प्रदेशका नाकामा समेत जाँच व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै नेता बानियाँले हेटौंडा–१० स्थित स्वास्थ्य निर्देशनालय र भरतपुरमा कोरोना जाँच गर्ने कार्यका लागि प्रक्रिया अघि बढाउन समेत ध्यानाकर्षण गराउनुभयो ।
उहाँले लकडाउनको समयमा खाद्य संकटको जोखिम रोक्न समेत प्रदेश सरकार अघि बढ्नुपर्ने भन्दै दैनिक उपभोग्य सामग्री खरिदलाई व्यवस्थित गर्न प्रशासनसंगको समन्वयमा काम गर्नुपर्नेमा जोड दिनुभयो । विहान र साँझपख दैनिक उपभोग्य सामान खरिदका लागि सर्वसाधारणको भिड बढ्दा संक्रमणको जोखिम हुने भएकाले प्रत्येक क्षेत्रका टोल छिमेकका पसललाई प्रशासनको समन्वयमा खुल्ला गर्ने र दुरी कायम गरी खरिदको व्यवस्था गर्न उहाँले सुझाव दिनुभएको छ ।
कुराकानीमा मूख्यमन्त्री पौडेलले कोरोनाविरुद्धको अभियानमा प्रदेश सरकारले काम गरिरहेको बताउँदै सबैसंगको हातेमालोमा अघि बढ्न तत्पर रहेको बताउनुभएको नेता बानियाँले जानकारी दिनुभयो । मूख्यमन्त्री पौडेलले स्वास्थ्यकर्मीहरुलाई उपचारमा आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउन आफु लागि परेको र थप गम्भिर भएर लाग्ने बताउनुभएको छ । कोरोनाविरुद्धको अभियान र लकडाउनबारे नेता बानियाँले दिएका सुझावलाई सकारात्मक रुपमा लिएको भन्दै मुख्यमन्त्री पौेलले मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।