मकवानपुर– मकवानपुरको पश्चिमी विकट राक्सिराङ गाउँपालिकामा भोकमरीको समस्या देखिन सुरु भएको छ । अधिकांश सीमान्तकृत चेपाङ र तामाङ समुदायको बसोबास रहेको गाउँपालिकामा लकडाउनकाका कारण यस्तो समस्या देखिएको हो ।
दैनीक ज्यालादरी गरेर छाक टार्दै आएका चेपाङ समुदायमा कोरोना भाइरसको संक्रमणको त्रासका कारण मुलुक नै लकडाउन भएपछि ज्यालादारी गर्न नपाउँदा समस्या सुरु भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । खेतबारीमा उब्जाइएको अन्नले आधा वर्ष पनि खान नपुग्ने र अन्नको लागि दैनिक ज्याला मजदुरी गर्न जाने गरेकोमा लकडाउनका कारण अहिले समस्या देखिन थालेको मल्लले बताउनुभयो । करिब दुई हजार परिवारमा खानेकुरा सक्किएको वडा अध्यक्षहरुबाट खबर प्राप्त भएको अध्यक्ष मल्लले बताउनुभयो । समस्या आए पछि अध्यक्ष मल्लले सहयोगका लागि सार्वजनीक रुपमा आव्हान गर्नुभएकाे छ । छाक टार्न नसकिरहेकाहरुको तथ्यांक लिने काम समेत भईरहेको र उनीहरुको लागि केही खानेकुराको सहयोग जुटाउने काम समेत सुरु भएकाे मललले बताउनुभयो । खान नपाएकाहरुलाई गाउँपालिकाको चामल बाँड्ने तयारी गरेको तर, सबैलाई चामल बाँड्न नसक्ने भएकाले सबैसँग सहयोगको लागि आग्रह गरेको मल्लले बताउनुभयो । मल्लकाका अनुसार गाउँपालिकाको वडा नम्बर–५ को चैनपुर, डिर्सी, ७ नम्बरको धिराङ, दामराङ र ९ नम्बरको खैराङ क्षेत्रमा बढी समस्या देखिएको छ । यसैगरी १ नम्बरको घ्याङसिङटार, २ नम्बरको राम्चे, ३ नम्बरको घट्टेखोला क्षेत्रमा पनि समस्या रहेकाे छ । गाउँपालिकाले समस्या समाधानका लागि २५ लाख रुपैयाँको विपद् व्यवस्थापन कोष तयार गरिसकेको र कोषमा सहयोग प्राप्त हुने क्रम समेत जारी रहेको उहाँले जानकारी दिनुभयो । विपद् व्यवस्थापन कोषमा वागमती प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पनि २ लाख रुपैयाँ जम्मा गर्नुभएको साथै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्नो सेवा सुविधाको रकम समेत जम्मा गर्ने भएको उहाँले बताउनुभयो । कोषमा गाउँपालिकाका ४३ जना जनप्रतिनिधिले आफ्नो १ महिनाको सेवा सुविधाबापतको रकम र गाउँपालिकाका स्वास्थ्यतर्फका कर्मचारीको ७ दिनको तलब र अन्य कार्यालयमा कार्यरत कर्मचारीको १० दिनको तलब कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज आचार्यले जानकारी दिनुभयो । त्यस्तै गाउँपालिकाभित्रका स्थानीयमा कोरोना भाइरसको लक्षण देखिए त्यसको परीक्षण गर्नको लागि प्रतिबिरामी पाँचहजार रुपैयाँ उपलब्ध गराउने यसअघि नै निर्णय गरिसकेको उहाँले बताउनुभयो । गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकमबाट कोरोना परीक्षणको लागि आर्थिक सहयोगका साथै निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउने निर्णय गरिएको आचार्यले जानकारी दिनुभयो ।