हेटौंडा– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणको परीक्षण गर्न लिइएका सबै नमुनाहरू भण्डारण गरी राख्न सम्पूर्ण प्रयोगशालाहरूलाई निर्देशन दिएको छ । मन्त्रालयको आजको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रमणको परीक्षणका लागि लिइएका नमुनाको नतिजा समेत खुलाई भण्डारण गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
प्रवक्ता प्रा.डा. गौतमले सबै अस्पताल तथा प्रयोगशालाहरूले नेगेटिभ नतिजा आएका नमुना एक महिना र पोजेटिभ नतिजा आएका नमुना ३ महिनासम्म भण्डार गरी राख्नुपर्ने बताउनुभयो । यस्तै नमुना परीक्षण भण्डारण गर्ने निर्णय पालना नगरेको पाइएका चार अस्पताललाई २४ घण्टा भित्र स्पष्टीकरण दिन माग गरेको छ ।
प्रा.डा. गौतमले निर्णय पालना नगरेका स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यावरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण माग गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसै गरी वैदेशिक यात्रा प्रयोजनका लागि पिसीआर रिर्पोट लिन आउने सबैको परिक्षण ए–लेवलका प्रयोगशालाबाट मात्र गर्ने र सोको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायतका सरोकारवाला निकायलाई दिनुपर्ने निर्णय भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
यस्तै प्रवक्ता प्रा.डा. गौतमले परीक्षण गर्न नमुना दिने व्यक्तिहरूको नेपाल सरकारद्वारा जारी परिचय पत्र हेरेर मात्र परिक्षण गर्न गराउन, विदेशबाट नेपाल आउने सबै नागरिक अनिवार्य १४ दिन क्वारेनटाइन राख्न र लक्षण देखिएमा मात्र नमुना परिक्षण गर्न गराउन निर्णय भएको जानकारी दिनुभयो ।