हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडाबाट पहिलो सेटेलाइट टेलिभिजन च्यानल प्रशारण हुने भएको छ । राजधानीबाट पहिलो च्यालनका रुपमा “नेस्नल गोल्ड एचडि” स्याटेलाइट टेलिभिजन च्यानल प्रसारण हुने भएको हो ।
सूचना तथा सञ्चार मन्त्रालयले हेटौंडाको सर्वोत्कृष्ट मिडिया प्रालिलाई प्रदेश राजधानीकै पहिलो स्याटेलाइट टेलिभिजनकोरुपमा भू–उपग्रह तथा केवल च्यानलमार्फत प्रसारण गर्ने गरी इजाजत पत्र प्रदान गरेको छ । ईजाजत प्राप्त भएसँगै केही हप्ता भित्रै टेलिभिजनको प्रशारण प्रारम्भ गरिने सर्वोत्कृष्ट मिडिया प्रालिका प्रवन्ध निर्देशक उज्ज्वल चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार भूउपग्रहको माध्यमबाट प्रसारण गरिने टेलिभिजन सिग्नललाई सि–ब्याण्डमा हेर्न सकिने छ । भने, भूउपग्रह थाइकम–५ च्यानलमार्फत टेलिभिजनलाई संसार भर हेर्न सकिने उहाँले बताउनुभयो । हाल सरकारले नेपाली, हिन्दी, अंग्रेजी तथा विभिन्न राष्ट्र भाषाहरुमा २४ एै घण्टा मनोरञ्जनात्मक तथा जानकारीमूलक सामाग्रीहरु प्रसारण गर्न पाउनेगरी इजाजत दिएको उहाँले बताउनुभयो ।