हेटौंडा–हेटौंडामा चाडपर्व लक्षित सञ्चालनमा आएको सहुलियत (सुपथ मुल्य) पसल नाम मात्रको भएको छ । सरकारको स्वामित्वमा संचालित साल्ट ट्रेडिङ कर्पोरेशनले सञ्चालनमा ल्याएको पसलमा उपभोक्ताले नुन मात्र पाउने भएपछि नाम मात्रको भएको छ ।
अघिल्लो आइतबार अर्थात गत असोज १८ गते देखि साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडा शाखाले सञ्चालन गरेको सहुलियत पसलमा आज सोमबार नवौं दिनसम्म करीब २ सय केजी नुन मात्र बिक्रि गरेको छ । नुन मात्र बिक्रिले नत सटरको भाडा असुल हुन्छ न त कर्मचारी खर्च । यस्तोमा सहुलियत पसलमा नुन मात्रै बिक्रिका लागि राखिँदा उपभोक्ताको आकर्षण पनि देखिएको छैन, भने सरकारी रकमको दुरुपयोग भएको पाईन्छ ।
सोमबार चार पटक सम्म पसलमा पुग्दा चिनी नपाउँदा हेटौंडा–९ का एक उपभोक्ताले सरकारी रकमको दुरुपयोग भएको बताउनुभयो । उहाँले भनेको सामान समेत नपाउने हो भने सुपथ मुल्य पसल सञ्चालन गर्नुको चौचित्य के ? प्रश्न गर्नुभयो । व्यानर, कोठा भाडा र दुइ जना कर्मचारीकाे खर्च समेत नउठ्ने भएपछि यो पसल चलाउनुको कुनै औचित्य छैन उहाँले भन्नुभयो ।
यता साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडा शाखाका प्रमुख शैलेश पाण्डेले भारतबाट चिनी आयात नहुँदा समस्या भएको बताउनुभयो । यसवर्ष चिनी र नुन मात्रै विक्रि गर्ने भनिएपनि हाललाई भारतबाट चिनी आयात नभएको कारण नुन मात्र सहुलियत पसलमा उपलब्ध भएको र अहिलेसम्म ९ दिनमा करीब २ सय केजी नुन मात्र बिक्री भएको पाण्डेले बताउनुभयो । केही दिन भित्रै चिनी समेत बिक्री गरिने पाण्डेकाे भनाइ छ ।