अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने गरी सरकारले आजबाट दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सन्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको हो । केही रुपैयाँ छुटसहित दैनिक उपभोग्य वस्तु किन्न पाइने सुपथ मूल्यका पसलहरु आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् । उपत्यकामा १६ स्थानमा सहित उपत्यकाबाहिर ६५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन् । एकीकृत सहुलियत पसलमा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, बासमती चामल, गेडागुडी र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाइने छ । त्यस्तै च्यांग्र्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । उपभोक्ताहरुले डीडीसी घिउमा प्रति लिटर ३० रुपियाँ छुट पाउने छन् ।