नेपालमा आज एकै दिन १८ सय ९३ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले हालसम्म ४९ हजार ९ सय ५४ संक्रमण मुक्त भएको र निको हुने दर ७३ दशमलव ७ प्रतिशत रहेको जानकारी दिनुभयो ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न ७१ जिल्लामा गरी १७ हजार चार सय १४ जना संक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमितहरु मध्ये ९ हजार एक सय ८६ जना होम आइशोलेसन तथा ८ हजार २ सय २८ जना संस्थागत आईशोलेशनमा रहेको प्रवक्ता प्रा।डा गौतमले जानकारी दिनुभयो ।

यस्तैगरी गम्भीर लक्षण भएका २ सय २० संक्रमितको आइसीयू तथा ४३ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै आज थप एक हजार एक सय ७२ जनामा संक्रमण पुष्टि भएपछि हालसम्मको कूल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।
यस्तै आज थप ७ जनाको कोरोना संक्रमण पछि मृत्यु भएको छ । आज बर्दिया र काठमाडौका २–२ जना तथा ललितपुर, सिराहा र झापाका १ –१ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणपछि मृत्यु हुनेको संख्या ४ सय ३६ जना पुगेको र मृत्युदर शुन्य दशमलव ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले कोरोना संक्रमण मुक्त भएका व्यक्तिमा लामो समयसम्म विभिन्न स्वास्थ्य समस्या देखिने गरेकोे बताउनु भएको छ । मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा डा. ज्ञवालीले कोरोना संक्रमण मुक्त भएका व्यक्तिहरुमा रुघाखोकी, स्वासप्रश्वासमा समस्या, थकान लगायतका समस्या देखिएको बताउनुभयो । यस्तै कोरोना संक्रमितहरु मध्ये ९९ प्रतिशतले यात्रा गरेको पाईएको डा. ज्ञवालीले जानकारी दिनुभयो । परिषदको सर्वेक्षण अनुसार आन्तरिक यात्रा गर्ने ६९ दशमलव १ प्रतिशत र २९ दशमलव ९ प्रतिशतले अन्तराष्ट्रिय यात्रा गरेको पाईएको डा. ज्ञवालीले बताउनुभयो ।