पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश ठाउँमा भएको वर्षा आगामी शनिबारसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।