मकवानपुर । प्रदेश युवा परिषद बागमतीको आयोजनामा लोकसेवा तयारी प्रशिक्षण हेटौडामा सुरू भएकाे छ । आज शनिबार हेटौंडाको पाठशाला ईन्स्टिच्युटमा सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले प्रशिक्षणको उद्घाटन गर्नु भएको हो ।

निजामति सेवामा महिलाको सहभागिता बढाउने उदेश्यले प्रदेश यूवा परिषद बागमतीले द्वन्द पिडित, सिमान्तकृत, अति सिमान्तकृत तथा जनजाति महिलाको लागि विशेषत खरिदार केन्द्रित तयारी कक्षा सञ्चालन गरेको हो । जसमा योग्यताको आधारमा छनौट गरीएका ५० जना महिलाहरुले प्रशिक्षण लिने भएका छन् ।

प्रशिक्षण शुभारम्भलाई उद्घाटन गर्दै मन्त्री मोक्तानले बिबिध कारणले पछाडी परेका महिलाहरुलाई राज्यको मूलधारमा ल्याउनको लागि प्रदेश सरकारले विभिन्न तालिम प्रशिक्षण लगायतका शसक्तिकरण कार्यक्रम संचालन गरिरहेको बताउनुभयाे ।

प्रदेश युवा परिषदले प्रदेश भित्रका १३ ओटै जिल्लामा ५ हजार भन्दा धेरै जनालाई विभिन्न शीपमूलक तालिम प्रदान गरेर युवाहरुलाई आत्मनिर्भर बनाउने काम गरिरहेको प्रदेश युवा परिषद बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयाे । साथै निजामति सेवामा महिलाहरुको संख्या बृद्दि गर्नको लागि यस प्रकारको लोकसेवा तयारी प्रशिक्षण महत्वपूर्ण हुने उहाँले बताउनुभयाे ।