मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना बिरुद्धमा समुदायमा जनचेतना जगाउने कुरामा राजनैतिक दलहरु चुकेको बताउनुभएको छ । बुधबार हेटौंडा उपमहानगरपालिका–१३ मा कोराना संङक्रमण रोकथाम सम्बन्धी सरोकारवालाहरुविच आयोजित अन्तरक्रीया कार्यक्रममा उहाँले समुदायमा जनसचेतना जगाउन कार्यकर्ता परिचालन गर्ने कुरामा राजनैतिक दलहरु चुकेको बताउनुभयो ।

उहाँले प्रत्येक घरमा राजनैतिक दलका कार्यकर्ताहरु रहेको भन्दै सचेतना जगाउन त्यो भन्दा राम्रो विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो “महामारीका बेला राजनैतिक दलका कार्यकर्ता सबै भन्दा राम्रो माध्यम बन्न सक्ने हुँदा कार्यकर्तालाई आफ्नो टोल छिमेकमा जनचेतना जगाउन पाट्रीका तर्फबाट निर्देशन गर्न सक्थ्यो । तर, त्यसमा राजनैतिक दलहरु चुकेका छन् । कोरोनाका बारेमा फैलिएका भ्रम र यथार्थ लाई चिर्ने र समुदायमा उत्पन्न हुने विभिन्न बिकृतिलाईलाई निरुत्साहित गर्न पार्टीहरुले आफ्ना कार्यकर्ताको माध्यमबाट धेरै कुरा गर्न सक्ने हुनाले कार्यकर्ता परिचालन गरेर जनचेतना जगाउनुका साथै, अन्य थुप्रै काम गर्न सक्थ्यो तर रानैतिकदलहरु त्यहाँ निर चुकेको छ ।”

उहाँले सधैभरी बन्दाबन्दी कायम राखेर मात्र नहुने हुँदा कोरोना संक्रमण फैलिन नदिन नागरिकलाई सचेत गराउँदै नागरिकको आवागमन, व्यवसाय र जनजीवनलाई सजह बनाउँदै लानु पर्ने बताउनुभयो । उहाँले निश्चित भौतिक दूरी अपनाएर, मास्क र स्यानिटाइजरको प्रयोग गरेर आफ्नो काम सञ्चालन गर्नु पर्ने भन्दै आम नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्डबारे सचेत गराउँदै अगाडि बढ्नु पर्ने बताउनुभयो । यस्ता काममा पार्टीका कार्यकर्ताहरुले जनचेतना जगाउनका लागि माध्यमको काम गर्न सक्ने उहाँको भनाई थियो । सो क्रममा प्रमुख खुलालले जिल्ला समन्वय समितिको मौजदात कोषबाट निर्माण सम्पन्न १३ नम्बर वडा कार्यालय भवनकोे अनुगमन समेत गर्नुभएको थियो ।

छलफलमा सहभागिहरुले समुदायमा सचेतना जगाउन सक्नु पर्ने बताएका थिए । विभिन्न सञ्चार माध्यमबाट कोरोना बिरुद्धमा सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उहाँहरुको भनाई थियो । उहाँहरुले सचेतनासंगै जनजिविका सहज बनाउन व्यवस्थित योजनाका साथ लाग्नु पर्ने बताउनुभयो । यस्तै उहाँहरुले संक्रमण रोक्न सिमा नाकामा कडाई गर्नुपर्ने तथा स्वास्थ्य मापदण्डको पालना गर्दै जनजिवन सहज बनाउँनु पर्ने, शैक्षिक क्षेत्र सुचारु गर्नूपर्ने बताउनुभएको थियो । उहाँहरुले यस्तो महामारीमा राजनैतिक दलको उपस्थिती हुन नसकेकोमा भने गुनासो समेत गर्नुभयो ।
छलफलमा वडा अध्यक्ष मनोज वाईवाले वडामा अहिलले सम्म ६५ जनाको पीसीआर परिक्षण गरिएको मध्ये १० जनामा संक्रमण देखिएको जसमध्ये पनि अहिले एक जनामा मात्र संक्रमित निको हुन बाँकी रहेको र उहाँलाई होम आइसोलेसनमै राखिएको जानकारी दिनुभयो । छलफलमा १३ नम्बर वडाका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता थियो ।