अमेरिकाले इराकबाट केही हप्ताभित्रै आफ्ना सैनिकको सङ्ख्या कटौती गर्ने भएको छ । पाँच हजार दुई सयको सङ्ख्यामा रहेका सैनिकमध्ये सेप्टेम्बर महिनाभित्रै २२ सय सैनिक फिर्ता गर्ने अमेरिकी सेनाको मध्यपूर्वका शीर्ष कमाण्डरले बताएको बीबीसीले जनाएको छ । बाँकी तीन हजार सेनालाई इस्लामिक स्टेट (आईएस) को अन्तिम नियन्त्रणको लागि इराकी सेनालाई सहयोग गर्न राख्ने खबरमा उल्लेख छ ।
इराकी प्रधानमन्त्री मुस्तफा अल–काधेमीसँग गएको महिना भएको भेटवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिटै इराकबाट अमेरिकी सैनिक फिर्ता हुने बताउनुभएको थियो । इराकबाट सन् २०११ मा अमेरिकी सैनिक फिर्ता भए पनि अमेरिकी राजदूतावासको सुरक्षार्थ भन्दै केही सैनिक रहेका थिए । तर केही वर्षपछि इस्लामिक स्टेटविरुद्धको युद्धमा इराकी फौजलाई मद्दत गर्न भन्दै अमेरिकाले थप सेना इराक पठाइएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट पनि चाँडै आफ्ना सैनिक फिर्ता गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।