मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिका रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा सकृय भएर लागेको छ । गाउँपालिकाले कोदो र फापरलगायत रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि अभियान नै सञ्चालन गरेर काम गरिरहेको छ ।
गाउँपालिकाले रैथाने बाली प्रबर्द्धनका लागि पचास प्रतिशत अनुदानमा कोदो चुट्ने, फल्ने मेसिन, पिसानी मेसिन, होटल, रेस्टुरेन्ट, होमस्टे तथा खाजाघर सञ्चालकलाई तालिमसंगै ओभन, मिक्सचर र डिजिटल ब्यालेन्सलगायत उपकरण प्रदान गर्नुका साथै रैथाने बालीको ब्रान्डिङ तथा बजारीकरणमा विशेष अनुदान तथा सहयोग कायृक्रम सञ्चालन गरेको गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।
यसै क्रममा रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा लागेको गाउँपालिले आजबाट कोदो र फापरको परिकार बनाउने तालिम सुरु गरेको छ । रैथाने बालीको उत्पादन तथा बजारीकरण गर्ने उदेश्यका साथ तालिम आयोजना गरिएको हो । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा सञ्चालित तालिममा कोदो र फापरको हलुवा, निमकिन, बिस्कुट, केक, कुकिज, पिजा, पाउरोटी, दुनोट, मःम जस्ता परिकार बनाउन सिकाइएको चौधरीले जानकारी दिनुभयो । माघ २९ गतेसम्म संचालन हुने तालिमबाट बनेका परिकारहरुको फाल्गुन १ गते प्रदर्शनी गर्ने कार्यक्रम समेत गर्ने उहाँले बताउनुभयो ।
तालिममा नेपाल कृषि अनुसन्धान परिषदका खाद्य प्राविधिक प्रविण ओझाले सहजिकरण गर्नुभएको छ । तालिमामा मकवानपुरगढी गाउँपालिकाका सवै वडाका होटल, होमस्टे, खाजा घरका संचालक र कृषि प्राविधिकहरुको सहभागीता रहेको छ । तालिमको आज एक कार्यक्रमकाबिच गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाले उद्घाटन गर्नु भएको थियो । मकवानपुरगढी गाउँपालिकामा रैथाने बाली अन्तर्गत कोदो र फापर खेती हुने गरेको छ । रैथाने बाली प्रबर्द्धनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेसंगै अहिले कोदो खेती समेत बढेको छ ।