नेपाल क्रिकेट संघले आगामी डिसेम्बरमा विश्वकप क्रिकेट लिग टु अन्तर्गतको एक त्रिकोणात्मक सिरिजलाई नेपालमा गर्नका लागि पहल गर्ने भएको छ । क्यानको कार्यसमितीको बैठकमा २०२१ मा धेरै प्रतियोगिता खेल्नुपर्ने भएकाले त्यो मध्येको एक प्रतियोगिता डिसेम्बरमा गर्नका लागि प्रस्ताव गर्ने योजना बनाएको हो ।
कोरोना भाइरसका कारण नेपालले आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत खेल्नुपर्ने तीन वटा सिरिज स्थगित भए । आइसीसीले नै नामिबिया, स्कटल्याण्ड र पीएनजीमा खेल्नुपर्ने तीन वटा सिरीज अर्को बर्षका लागि सारेको थियो । अब नेपालले २०२१ मा नौ वटा त्रिकोणात्मक सिरिज खेल्नुपर्ने अवस्था रहेको छ । त्यसमा तीन वटा सिरिज २०२० बाट सरेका मध्ये छन ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले कार्यसमितीको बैठकको निर्णयमा मैत्रीपुर्ण खेल भनेर भनिए पनि त्यो प्रतियोगिता आइसीसी विश्वकप लिग टु अन्तर्गतको एक सिरिज हुने बताउनुभयो । यसका लागि क्यानले आइसीसीसँग प्रस्ताव गर्ने र राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयलाई पनि पत्राचार गर्नेछ । क्यानले अघिल्लो बर्ष नै नेपाल क्रिकेट लिग गर्ने योजना बनाएको थियो । त्यसका लागि आन्तरिक तयारी पनि गरिसकेको थियो । विभिन्न ब्यवसायीक घरानासँग कुरा अगाडी बढाएपनि अन्तिममा कोरोनाले असफल भएको थियो । तर यो बर्ष भने क्यानले एनपीएललाई विशेष तरिकाले बनाउने योजना बनाएको छ । यसका लागि पाँच करोडभन्दा बढिको बजेट लाग्ने सक्ने अनुमान पनि प्रारम्भिक चरणमा गरेको छ ।