मकवानपुर– ढुंगा, गीट्टी बालुवा जिल्ला अनुगमन तथा समन्वय समितिले जिल्लाका तीन पालिकाको ढुंगा, गीट्टी, बालुवाको स्टक प्रमाणित गरेको छ । अनुगमन समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा आज बसेको बैठकले जिल्लाको मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाको स्टक प्रमाणित गरेको हो ।

बैठकले ढुंगा, गीट्टी, बालुवाको प्रमाणिकरणका लागि डिभिजन वन कार्यालयका प्रमुखको नेतृत्वमा गठन गरेको उपसमितिले पेश गरेको स्टक प्रमाणित प्रतिवेदन स्वीकृत गरिएको समितिका संयोजक खुलालले जानकारी दिनुभयो । उप समितिले स्थलगत रुपमा तीनवटा गाउँपालिकामा रहेको ढुंगा, गीट्टी, बालुवाको नाँपजाँच गरेर तयार पारेको प्रतिवेदन समितिले स्वीकृत गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । समितिले यस अघि जिल्लाको हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाको स्टक प्रमाणित गरेको थियो ।

त्यस्तै आज बसेको बैठकले ती पालिकाहरुमा फरक मौजदात देखिएको जफत योग्य ढुंगा, गीट्टी, बालुवालगायत नजिदन्य पदार्थहरु तत्काल राजस्व संकलन गरि अनुगमन समितिलाई जानकारी गर्न निर्देशन दिने निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै ती स्थानीय तहहरमा थप अनुसंधानको लागि आन्तिरिक राजस्व कार्यालयलाई लेखि पठाउने निर्णय भएको जानकारी दिनुभयो । यस्तै बैठकले पर्सा राष्ट्रिय निकुञ्ज (वन्यजन्तु आरक्षण) क्षेत्रबाट नदिजन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवा) को चोरी निकासी बढेको पाईएकाले त्यस्तो चोरी निकासीको नियन्त्रण गर्न राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्ने र आगामी बैठकमा राष्ट्रिय निकुञ्जका वार्डेनलाई समेत उपस्थीत गराएर छलफल गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, मकवानपुरका प्रहरी प्रमुख शुसिल सिंह राठौर, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक निर कृष्ण अधिकारी, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख ईमनाथ पौडेल, डिभिजन वन कार्यालय राप्तीका प्रमुख दिर्घ नारायण पौडेल, हेटाैंडा उपमहानगरपालिकाका शाखा अधिकृत रामकृष्ण थापा, जिल्ला समन्व्य समितिका शाखा अधिकृत भीमलाल महर्जन, बकैया गाउँपालिका कार्यकारी अधिकृत लक्ष्मण पुडासैनी, आन्तरिक राजस्व कार्यालयका अधिकृत, जिससका प्राविधिक राम शेवक मण्डललगायतको सहभागिता थियो ।