नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना÷पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै वास्तविक क्षेत्रको कर्जा र अन्य क्षेत्रको रु पाँच करोडसम्मको कर्जालाई पुनर्संरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो ।
“अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताका आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्वन्धित कर्जा रु पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ”, समीक्षामा भनिएको छ । यस्तो व्यवस्थाले कोरोना कहरपछि समस्यामा परेर भर्खर व्यवसाय विस्तार हुने क्रममा रहेका होटल क्षेत्रलाई राहत पुग्ने विश्वास लिइएको छ ।
यसैगरी निर्माण तथा निर्माणसँग जोडिएका क्षेत्रलाई थप राहत दिने उद्देश्यका साथ मौद्रिक नीतिको समिक्षामार्फत् कर्जाको पुनरतालिकीकरणको सुविधा दिइएको छ । अर्थतन्त्रमा देखिएको वास्तविक क्षेत्रमा देखिएको समस्या समाधानका लागि यस्तो व्यवस्थाले सहयोग पुग्नेछ । मौद्रिक नीतिको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा–निक्षेप अनुपात गणनाको समयसमेत थप गरिएको छ । यसअघि साउन १ गतेसम्मका समय दिइएकोमा कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप) को रुपमा गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिइएको छ ।











