गण्डकीमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद् पूर्ण भएको हो । प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार काँग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले मगरलाई तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
जसमध्ये जिसीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आले मगरलाई आर्थिक मामिला मन्त्रालय र जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि वैशाख १५ मा शपथ लिएका दुई मन्त्री सुशीला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र सरस्वती अर्याललाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादी सहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।