मकवानपुर– बागमती प्रदेश सरकारको विकट गाउँपालिका मध्ये धादिङको रुबीभ्याली र काभ्रेको महाभारत गाउँपालिका सडक सञ्जालसंग जोडिएको छ । अहिलेसम्म पनि सडक सञ्जालसंग नजोडिएका यी दुई पालिकालाई प्रदेश सरकारको लगानीमा मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम अन्तरगत सडक सञ्जालसंग जोडिएको हो ।
बागमती प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम मार्फत जिल्ला सदरमुकाम तथा नजिकको लोकमार्ग देखि स्थानीयतहको मुकामसम्मको सडकलाई स्तरोन्ती गर्दै ५ वर्ष भित्रमा कालोपत्रे गर्ने लक्ष्य लिए अनुसार ती दुई गाउँपालिकालाई सडक सञ्जालमा जोडिएको हो । कार्यक्रम मार्फत मंगलबार प्रदेश सरकारले महाभारत गाउँपालिका जोड्ने तीनखुट्टे–देबिटार सडकको ट्रयाक ओपन गरेको छ । भने, प्रदेशको सबै भन्दा विकट रुवीभ्याली गाउँपालिकालाई नजिकैको राजमार्ग वा कालोपत्र सडकबाट गाउँपालिकाको केन्द्रसम्म जोड्नका लागि निर्माण कार्य अगाडि बढेको प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश सरकारकै लगानीमा प्रदेशका पिन्थली, रजवास, वुढाखानी, तीनखुट्टे, देविटार सडक कालोपत्रको काम समेत शुरू गरिएको छ । साथै प्रदेशका अन्य १४ वटा पालिकाको केन्द्रमा बाह्रै महिना निर्वाधरुपमा सवारीसाधन सञ्चालन गर्नका लागि कालोपत्र गर्ने कार्य समेत अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले प्रदेशका हरेक स्थानीयतहको मुकामसम्म पुग्ने र प्रदेश राजधानीसंग जिल्लालाई जोड्ने सडक संजाल सहज बनाउने लक्ष्यका साथ काम गरिरहेको मन्त्रालयले जनाएको छ । यसका साथै प्रदेश सरकारले स्थानीयतहको केन्द्रसंग सडक संजाल जोड्ने तथा प्रदेश चक्रपथलाई उच्च प्राथमिक्ता दिएर काम अगाडी बढाएको जनाएको छ । नजिकैको कालोपत्र सडकबाट स्थानीय तहहरुको केन्द्र जोड्ने सडकहरु बाह्रै महिना सञ्चालन हुने सडकको रुपमा स्तरोन्नति गर्न आगामी पाँच वर्षमा सम्पन्न हुने नीति लिएको प्रदेश सरकारले सडकको रुपमा स्तरोन्नति गर्न प्रदेश सरकारले बहुवर्षिय ठेक्का प्रकृया मार्फत काम गरिरहेको जनाएको छ ।