हेटाैंडा– साबुनपानी उपलब्ध नभएको ठाउँमा मात्र स्यानिटाइजर प्रयोग गर्न विज्ञहरुले आग्रह गरेका छन् । कोरोना भाइरसको रासायनिक तत्वलाई बिथोल्न मनतातो पानी र साबुन जति प्रभावकारी केही नभएको भन्दै विज्ञहरुले उपलब्ध र संभव भएसम्म साबुनपानीले २० सेकेण्ड हात धुनु नै बुद्धिमानी हुने बताएका हुन् । 

अमेरिकाको नर्थइस्टर्न युनिभर्सिटीका सह-प्राध्यापक थोमस गिलभर्टले कोरोना भाइरसको रासायनिक तत्व बिथोलेर निस्क्रिय बनाउनका लागि सबैभन्दा उत्तम वस्तु साबुनपानी नै भएको बताउनुभयो । तर पानी एक्लैले भने भाइरसलाई निस्क्रिय बनाउन नसक्ने भन्दै गिलभर्टले साबुनपानीले २० सेकेण्ड हात धुनु भाइरस निस्क्रिय पार्न पर्याप्त रहेको बताउनुभएको बीबीसीले जनाएको छ । स्यानिटाइजर साबुनपानी नभएको अवस्थाका लागि मात्र भएको र यसले कतिपयको छालामा समस्यासमेत ल्याउन सक्ने भन्दै विज्ञहरुले साबुनपानीलाई नै रोज्न आग्रह गरेका छन् । 

यस्तै पछिल्लो समयमा सजिलोका लागि ह्याण्डवासको प्रयोग गर्ने क्रम बढेको भन्दै विज्ञहरुले त्यस्ता एण्टिभाइरलले भविष्यमा अरु समस्या देखिने जोखिम रहेको बताएका छन् । हात धुनको लागि पिउनको जत्तिकै गुणस्तरको पानी नभए पनि हुने तर भाइरसलाई निस्तेज पार्न हात धुनु उत्तम हुने बेलायतको युनिभर्सिटी अफ केन्टकका प्राध्यापक मार्टिन मिकएलिसले बताउनुभयो । दिनमा कति पटक हात धुने भन्ने कुरा उसको काम तथा व्यवहारमा भर पर्ने उनीहरुको भनाइ छ । यदि घरमै बस्ने मानिस हो भने शौचालय गएपछि, खाना पकाउनु अघि वा खानु अघि मात्र हात धुँदा हुने तर घरबाहिर निस्किएको छ भने सकेसम्म हात नधोइ अनुहार छुन नहुने प्राध्यापक मिकएलिसले बताउनुभयो ।