हेटाैंडा– नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल बीरगंज हेल्थ केयरमा कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । पर्साको बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएपछि ६१ वर्षीय पुरुषलाई भदौ ४ गते राति अलि अर्थो ट्रमा सेन्टरबाट गम्भीर अवस्थामा वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो । उच्च रक्तचाप, मुटु र दम सम्बन्धी समस्याले ग्रस्त उनको स्वाब भदौ ३ गते सङ्कलन गरिएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड अस्पताल बीरगंज हेल्थ केयरमा भर्ना गरिएको र उपचारकै क्रममा आज बिहान मृत्यु भएको डाक्टर सिंहले बताउनुभयो ।
यसै गरी, कोरोना सङ्क्रमणबाट बीरगन्ज महानगरपालिका वडा नं. २६ सुगौली विर्ता बस्ने ५८ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड बीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत उनको गए राति मृत्यु भएको डाक्टर सिंहले बताउनुभयो । गत भदौ ४ गते मृतकको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएकोमा हिजो आएको रिपोटमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । मृतक पुरुषमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । उनी पुराना मधुमेहका रोगी रहेको र उनको किड्नीमा समेत समस्या रहेको चिकित्सक सिंहले बताउनुभयो । कुनै पनि ट्राभल हिस्ट्री नभएका मृतक दुवै पुरुषको आइसियु पछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । बिरगञ्जमा थप २ जनाको मृत्यु पछि कोरोना संक्रममणको कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । मृत्यु भएकामध्ये २७ जना पर्साका, ५ जना बाराका र २ जना रौतहटका रहेका छन् ।











