हेटौंडा– हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नगर खेलकुद विकास समितिको अध्यक्षमा चन्द्र शाहीलाई नियुक्त गर्नुभएको छ । नगर खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा २ (क) मा भएको व्यवस्था बमोजिम हेटौंडा उपमहानगरपालिका–२ निवासी चन्द्र शाहीलाई नगर खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।
नगर खेलकुद विकास ऐन र कार्यविधि पारित भएसँगै नगर खेलकुद विकास समिति गठन गरिएको मेयर महतले जानकारी दिनुभयो । नगर खेलकुद विकास समितिको कार्यकाल ३ वर्षको हुनेछ । नगर खेलकुद विकास समिति ७ सदस्यीय हुने व्यवस्था छ । अध्यक्ष नियुक्त गरिए पनि सदस्य नियुक्त गर्न बाँकी रहेको छ । केही दिनमै सदस्यहरु पनि नियुक्त गरिने मेयर महतले बताउनुभएको छ ।