file photo

राष्ट्रियसभामा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद डा. बेदुराम भुसालले गैरसरकारी विधेयकका रुपमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ पेश गर्नुभएको हो । यसअघि, विशेष समयमा सांसदहरुले मिटरव्यजीबाट नागरिक पीडित बनिरहेको, सरकारी अस्पतालहरूमा भएका प्रविधिको प्रयोग हुन नसकेको, सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने, वैदेशिक रोजगारीमा जानेमाथि भइरहेको ठगी लगायतका विषय उठाउनुभयो ।
यस्तै, जातीय भेदभाव, राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइ, मदरसालाई राज्यको मूल प्रवाहमा ल्याइनुपर्ने, नागरिकता समस्या, मलखाद, युवा विदेश पलायन लगायतका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको आजको बैठक सुरु भएलगत्तै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको निर्धारित समयमा नेपाल सरकारका मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिनुभयो । दिउँसो १ बजेर १ मिनेटका लागि निर्धारण गरिएको आजको बैठक ढिला गरी सुरु भएको थियो ।राष्ट्रियसभाको अर्को बैठक आजै दिउँसो ३ बजेर ५१ मिनेटमा बस्ने गरी बोलाइएको छ ।