हेटाैंडा– नेपालमा आज थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ३ सय ६४ जना पुरुष र एक सय ९ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
हालसम्म १२ हजार ६ सय ३६ जना पूरुष र १ हजार ८ सय ८३ जना महिलामा संक्रमण पुष्टि भएको छ । यसैगरी आज थप ६ सय ६४ जना कोरोना भाईरसको संक्रमण मुक्त भएसँगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको संख्या कूल ५ हजार ३ सय २० पुगेको छ ।
यसैगरी असार १७ गते निधन भएका ४९ दिनका शिशुमा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस संक्रमण पछि मृत्यू हुनेको संख्या ३१ पुगेको छ । मन्त्रालयका अनुसार म्याग्दीको धौलागिरी नगरपालीका वडा नं. ४ का शिशुको स्वास्थ्यमा समस्या आएपछि असार ९ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका लागि भर्ना गरिएको थियो । शिशुको पहिलो चरणको डायलाशिस समेत गरि आइ सीयूको भेन्टीलेटरमा राखी उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।
यसैगरी देशका विभिन्न प्रयोगशालामा हालसम्म २ लाख ३७ हजार ७ सय ६४ वटा पीसीआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३७ वटा पीसीआर विधिबाट परिक्षण गरिएको छ । यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ३८ हजार एक सय ९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।