हेटौंडा: बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले एमालेका मतदाताहरुलाई अबको ७ दिन एकदमै मिहिनेत गरेर ५ वर्ष सुखका साथ समय बिताउन आग्रह गर्नुभएको छ । हेटौंडा-९ को चुनाव प्रचार घरदैलो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचनको मिति नजिकिए सँगै अबको ७ दिन एमालेको लागि जीवन मरणको समय भएको बताउनुभएको छ ।

नेकपा एमालेको केन्द्रिय सल्लाहकार सदस्य समेत रहनुभएका पौडेलले अब सम्पुर्ण वडाबासी मतदाताहरुलाई एमालेलाई भोट हाल्नको लागि प्रोत्साहन गर्ने कार्य अर्थात घरदैलो कार्यलाई तिब्रताका साथ र प्रभावकारिताका साथ अगाडि बढाउनु पर्ने धारणा ब्यक्त गर्नुभयो । यसका लागि एमालेका योद्धाहरुले अबको ७ दिन सबै काम थाती राखेर भएपनि एमालेको घरदैलोमा सहभागी हुनुपर्ने उहाँको भनाई छ । अबको ७ दिन मिहिनेत गरेनौं र मतदान गर्ने बेला गल्ती गरेर गलत मान्छेलाई मत दियौं भने ५ वर्षसम्म पछुताउनुको बिकल्प नभएको पनि उहाँले बताउनुभयो ।

यस अघिको कार्यकालमा पनि एमालेका जनप्रतिनिधिले कसैको अगाडि शिर झुकाएर बोल्नुपर्ने काम नगरेको दाबी गर्नुहुँदै पूर्व मुख्यमन्त्री पौडेलले एमालेले गरेका बिकास निर्माणका कामहरु नै पुन: गर्वका साथ भोट माग्ने आधार भएको बताउनुभएको छ । अहिले देशभर नै एमालेप्रति जनताको आकर्षण बढेर एमालेमा जनलहर छाएकाले अब एमालेको जीतलाई कुनै तत्वले पनि रोक्न नसक्ने उहात्त्ले बताउनुभयो ।