नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा ११ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कामएको छ ।प्राधिकरणको ३५ औं वार्षिक उत्सवका अवसरमा सार्वजनिक गरिएको विवरण अनुसार प्राधिकरण ४ अर्ब ८६ करोड सञ्चित नाफामा गएको र गत आर्थिक वर्षमा ११ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कामएको हो ।

त्यस अवसरमा सोमबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २७ अर्ब रुपैयाँ सञ्चित नोक्सानीमा रहेको संस्थालाई ४ वर्षभित्र वार्षिक अर्बौं रुपैयाँ नाफा कमाउने संस्थाका रुपमा उभ्याउन पाउँदा आफू अत्यन्तै भावुक भएको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले यो उपलब्धि सरोकारवाला सबैको सहयोगबाट मात्रै प्राप्त भएको भन्दै कोभिड १९ को संक्रमण बढेका बेलामा पनि काममा खटिने सबै कर्मचारीलाई २० देखि ५० प्रतिशतसम्म भत्ता दिइने बताउनुभयो ।

ग्रामीण विद्युतीकरणलाई अभियानकै रुपमा चलाएको प्राधिकरणले ४ वर्षको अवधिमा ६३ बाट ८६ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुर्याएको, र विद्युत महसुल पनि ८ देखि ९ प्रतिशतसम्म घटाइएको त्यस अवसरमा कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

३ हजार मेगावाटका आयोजना निर्माणाधीन रहेकोमा १३ सय मेगावाट चालु आर्थिक वर्षमै आउने र उक्त विद्युत विद्युतीय चुल्हो, विद्युतीय गाडी र लिफ्ट सिंचाईमा खपत गराउने प्राधिकरणको रणनीति रहेको पनि उहाँले बताउनु भयो ।