फाइल तस्विर

आज थप ५ सय ३५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ४ सय ६१ जना पुरुष र ७४ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले दिनुभएको जानकारी अनुसार आज मोरङका २४, सप्तरीका १५, झापाका ३, धनुषाका १०, महोत्तरीका १, अछामका २, अर्घाखाँचीका ९, बैतडीका १४, डडेलधुराका १५, डोटीका ७, गुल्मीका ५६, जाजरकोटका १, कैलालीका ५८, नवलपरासीका ५, स्याङ्जाका ३३, सर्लाहीका ४७, सिन्धुपाल्चोकका २, सिराहाका २३, पाल्पाका ८१, प्यूठानका ३०, रौतहटका ३४, रुपन्देहीका १२, चितवनका ५, नवलपरासी पूर्वका २४, ओखलढुंगाका १, तनहुँका ११ र दाङका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल सम्म ७६ जिल्लाका ८ हजार ६ सय ६७ जना पुरुष र ८ सय ९४ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप ३ सय ७० जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या २ हजार १ सय ४२ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आईसोलेसन सेन्टरबाट ३ सय ३८ जना पुरूष र ३२ जना महिला संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सम्म १ सय ६१ जना महिला र १ हजार ९ सय ६१ जना पुरुष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालामा हाल सम्म जम्मा १ लाख ८१ हजार ३ सय ७१ वटा पिसीआर तथा २ लाख ६८ हजार १ सय ३ वटा आरडिटी विधिबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार १ सय ९८ वटा पिसीआर तथा ५ हजार ९ सय २९ वटा आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ९० हजार ७ सय ३० जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ७ हजार ७ सय ७९ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।