पाल्पामा पहिरोले सवारी साधन बगाउँदा दुई जनाको शव भेटिएको छ । पाल्पाको रिडी–तानसेन सडक खण्डको सम्मोबारी नजिक पहिरोले चार वटा सवारी साधन बगाएको हो । घटनास्थलमा दुई पुरुषको शब भेटिएको र एक गम्भीर घाइतेको उद्धार गरी उपचारको लागि तानसेनको मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शव पाेस्टमार्टमकाे लागि जिल्ला अस्पताल ल्याइएको छ । पाल्पाबाट रिडी–गुल्मी जाँदै गरेको लु १ त १९२८ काे निर्माण सामग्री बोक्ने ट्रकमा सवार दुई पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

प्रहरीका अनुसार सदरमुकाम तानसेनदेखि सात किलोमिटर टाढा रिडी–तानसेन सडक खण्डको सम्मोबारीमा पहिरो खस्दा एउटा ट्याङ्कर, बोलेरो जीप, मिनी ट्रक र एउटा कार बगाएको हो । ती सवारी साधनमा कति मानिस सवार थिए भन्ने यकिन भइसकेको छैन । अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित उद्धारकर्मीहरु खटिएका छन् । डेढ सय मिटर लामो पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।