हेटौडा– बागमती प्रदेशको १० जिल्लाका वालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । गत बर्षदेखि देखिन थालेको फौजी किरोको प्रकोप यसबर्ष मकैबालीसहित अन्य उत्पादनमा पनि देखिएको छ । काठमाडौं उपत्यकाबाहेक अन्य क्षेत्रमा किराको प्रकोप बढ्दो देखिएको कृषि विकास निर्देशनालयकी बाली संरक्षण अधिकृत सुलोचना श्रेष्ठले जानकारी दिनुभयाे ।

उहाँका अनुसार फौजी किराले मकै, तरकारी र अन्य उत्पादनमा क्षति गरेको छ । ‘गत वर्ष प्रदेशको २,३ जिल्लामा रोग देखापरेको थियो, अहिले उपत्यकाबाहेक सबै जिल्लामा देखिएको छ ।’ कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशको सिन्धुली, रामेछाप, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रे, धादिङ र रसुवाजिल्लामा फौजी किराको प्रकोप देखिएको छ । गत वर्ष फौजी किराले सबैभन्दा बढी सिन्धुलीमा मकै र धानबालीमा क्षति गरेको थियो । कृषि विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेशमा फौजी किराले ४ सय २५ हेक्टर जमिनमा लगाएको मकैवाली नष्ट गरेको थियो । रोग देखिएसँगै गाउँमा पुगेर किसानलाई उपचार विधि सिकाएको कृषि प्राविधिकहरु बताउँछन् ।

#अनलाइनखबरबाट