चीनसँगको सीमा विवादले हिंसात्मक रुप लिएपछि यसबारे छलफल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक डाकेका छन् । सर्वदलीय बैठक सीमा विवादबाट उत्पन्न वर्तमान अवस्थामा केन्द्रित रहेको बताइएको छ । भर्चुअल बैठकमा सत्तारुढ दलसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायत विभिन्न दलका नेता सहभागी थिए ।
कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले चीनले गलवानमा गरेको आक्रमणलाई पूर्वनियोजित थियो भनेका छन् । साथै यस्तो बेलामा सरकार सुतिरहेको भन्दै उनले गुनासो गरेका छन् । लद्दाखको गलवान क्षेत्रमा चीन र भारतका सेनाबीच भीडन्त हुँदा २० भारतीय सैनिक मारिएका छन् । साथै १० सैनिक चिनियाँ सेनाको नियन्त्रणमा थिए । मेजर जनरल स्तरीय वार्तापछि उनीहरु रिहा भएका हुन् ।
सीमा विवादबारे चीन र भारतबीच गलवानमा भएको भीडन्तलाई १९६२ पछिको ठूलो हिंसात्मक भीडन्तको रुपमा लिइएको छ । भीडन्तमा सैनिक मारिएपछि प्रधानमन्त्री मोदीले त्यस घटनाको जवाफ दिने चेतावनी दिएका थिए । पछिल्लो समय क्षेत्रीय शक्तिको रुपमा प्रभाव जमाउँदै गरेको भारतले सिमानाका कारण तनाव झेल्दैआएको छ ।
–एजेन्सी