एप्पलको बहुप्रतिक्षित आइफोन १५ सिरिज लञ्च हुन केही महिना मात्रै बाँकी छ । प्रतिक्षाको घडी नजिक आउँदै गर्दा नयाँ आइफोन सिरिजका विषयमा विभिन्न खालका समाचार तथा खुलासाहरु सार्वजनिक भैहरेका छन् । जस अनुसार एप्पलको आफ्नो नयाँ आइफोन १५ सिरिजमा पहिलोपटक आइफोनका डिजाइन तथा हार्डवेयरमा महत्वपूर्ण परिवर्तन गर्न लागेको दाबी गरिएको छ ।
आइफोन १५ प्रो म्याक्समा एप्पलले आइफोनमा रहँदै आएको म्यूट बटनलाई हटाएर एक नयाँ बटन राख्ने र त्यो फाइभ जी फोनका लागि नयाँ हुने बताइएको छ । केहीदिन अघि मात्रै एप्पलको आसन्न आइफोन १५ को दाबी गरिएको आइफोनको बाहिरी खोलको तस्वीर सार्वजनिक भएको थियो । त्यसबाटै नयाँ आइफोनमा म्यूट बटन हटाउन लागिएको अनुमान गरिएको हो । माजिन बू नामक टिप्स्टरले उक्त तस्वीर शेयर गर्दै त्यस्तो दाबी गरेका थिए ।
यदि सोही बमोजिम भएमा एप्पलको आइफोन १५ सिरिज अन्तरगतको प्रो म्याक्समा म्यूट स्विच बटनको स्थिति परिवर्तन हुनेछ, जुन करीब १६वर्षमा पहिलोपटक हुन लागेको हो । उक्त खोलको तस्वीर हेर्दा म्यूट बटनलाई प्रतिस्थापन गर्ने नयाँ बटन धेरै वृत्ताकार हुने देखिन्छ । एक दाबी अनुसार नयाँ आइफोनमा क्यामरालाई नियन्त्रण गर्ने तथा फोनलाई स्विचअफ गर्ने जस्ता दुबै काम गर्नसक्ने एउटै बटन हुनेछ । सार्वजनिक भएको समाचार अनुसार आइफोन १५ प्रो म्याक्सको पछाडिको क्यामराको भागमा एउटा ठूलो आकारको उठेको भाग हुनेछ ।
यसको अर्थ आइफोन १५ प्रो म्याक्समा ठूलो आकारको क्यामरा हुने अनुमान गर्न सकिन्छ । यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहने बताइएको छ । आइफोन १५ सिरिजको स्क्रिनको आकार आइफोन १४ सिरिजमा जत्रै हुने बताइएको छ । तर डिस्प्लेको भेजलको आकार घट्ने र त्यसबाट स्क्रिनको लुक्स सुन्दर देखिनुका साथै प्रयोगकर्ताले बढि स्क्रिन स्पेस प्राप्त गर्नेछन् । आइफोन १५ सिरिजको अर्को महत्वपूर्ण परिवर्तन भनेको यसको चार्जिङ पोर्ट हो । एप्पलले आफ्नो स्वामित्वको लाइटनिंग पोर्टलाई अन्त्य गरी टाइप सी पोर्ट राख्नेछ । अर्थात् आइफोन १५ सिरिज नै टाइप सी पोर्ट भएको पहिलो आइफोन बन्नेछ ।