नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दोलखाका ७६ वर्षीय पुरुषको आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या नौ पुगेको जानकारी दिनुभयो ।
प्रवक्ता डा. देवकोटाले दिनुभएको जानकारी अनुसार मृतक व्यक्ति यही ज्येष्ठ १३ गते मस्तिष्क घात भई काठमाडौँ मेडिकल कलेजमा भर्ना हुनुभएकोमा ज्येष्ठ १५ गते स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएपछि थप उपचारका लागि त्रि वि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो ।