हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित कुष्माण्ड सराेवर त्रिवेणीधाम जाने सडकको स्ल्याव ढलान सुरु भएकाे छ । त्रिवेणीधाम जाने सडक त्रिवेणीपथ–१ को स्ल्याव ढलानकाे बुधबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले शिलान्यास गनुर्भएकाे हाे । शिलान्यास गर्दै प्रमुख खुलालले चुनावका बेलामा गरिएका बाचा अनुरुप ९ नम्बर वडाको विकासलाई प्राथमिकता दिएको बताउनुभयो । कुष्माण्ड सराेवर धाममा जाने सडक सानाे हुँदा समस्या भएकाे र अब सडक बनेपछि समस्या समाधान हुने उहाँले बताउनुभयाे । उहाँले कुष्माण्डमा शवदाह स्थल समेत निर्माण भइरहेकाे भन्दै धार्मिक, वैदिक एवम् पर्यटकिय दृष्टिले यसकाे महत्व बढ्दै गएकाे बताउनुभयाे ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार कार्यालयको ५० लाखको बजेटमा सडकको स्ल्याब ढलान सुरु भएको हो । ३ मिटरमात्र स्ल्याब ढलान गरिएको बाटोको दायाँबायाँ दुई–दुई मिटर बिस्तार गरी ढलान सुरु गरिएको हाे । कुष्माण्ड टोलविकास समितिका अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा भएकाे सडक ढलाइको शिलान्यास कार्यक्रममा ९ नम्बर वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, कुष्माण्ड सरोबर त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपाने, त्रिवेणी टोल विकास समितिका अध्यक्ष दुर्गा ढकाललगायतको उपस्थिति रहेको थियो ।