मकवानपुर, जेठ ३ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान राजनीतिक परिस्थितिमा जननेता मदन भण्डारीले प्रतिपादन गर्नु भएको ’जनताको बहुदलीय जनवाद’ (जबज) को सान्दर्भिकता अझ बढेर गएको बताउनुभएको छ । ३३औं मदन–आश्रित स्मृति दिवसका अवसरमा आईतबार हेटौंडामा आयोजित श्रद्धाञ्जली कार्यक्रमका अवसरमा उहाँले यस्तो बताउनुभएको हो ।

मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरको आयोजनामा हेटौँडा–९ स्थित दिव्य बाल उद्यानमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उहाँले मुलुकको समृद्धि र राजनीतिक स्थिरताका लागि जबजको मार्गदर्शन अपरिहार्य रहेको उल्लेख गर्नुभयो । सो अवसरमा उहाँले आफूहरू पदमा रहे पनि नरहे पनि मकवानपुर र समग्र बागमती प्रदेशको विकासका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य केदार न्यौपानेले पार्टीको सिद्धान्त र निष्ठाप्रति प्रतिबद्ध हुँदै एमालेले सधैँ जनताको आधारभूत आवश्यकता र राष्ट्रियताको पक्षमा आवाज उठाइरहने दाबी गर्नुभयो । त्यस्तै, एमाले बागमती प्रदेश कमिटी सदस्य सुमित्रा काफ्लेले महिला हकहित र नेतृत्व विकासमा जोड दिनुभयो भने एमाले मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामाले समाज रूपान्तरण र समृद्धिको यात्रामा सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा हेटौँडा–९ का वडा अध्यक्ष सुकराम केसीले दिव्य बाल उद्यान लगायत समग्र वडाको विकास निर्माणका कार्यहरूमा स्थानीय जनप्रतिनिधिहरू निरन्तर लागिपरेको बताउनुभयो । त्यस्तै फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालले जननेता भण्डारीको विचारलाई आत्मसात गर्दै समाजमा समानता, न्याय र लोकतन्त्र स्थापनाका लागि फाउन्डेसन निरन्तर सक्रिय रहने बताउनुभयो ।

त्यसअघि कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले दिव्य बाल उद्यानमा रहेको जननेता मदन भण्डारी र जीवराज आश्रितको प्रतिमामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । फाउन्डेसनले यो वर्ष मदन–आश्रित स्मृति दिवसका अवसरमा हिजो संस्कृत विद्यालयमा खाद्यान्न वितरण गरेको थियो । भने आज श्रद्धञ्जली सभा आयोजना गरेको हो ।