मकवानपुर, बैशाख १९ । नेपालकै पहिलो फुटबल महिला रेफ्री तथा प्रशिक्षक कल्पना शर्मालाई यस वर्षको ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान’ प्रदान गरिएको छ । मदन भण्डारी फाउन्डेसन मकवानपुरले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय श्रीचन्द्र शर्माको स्मृतिमा हरेक वर्ष प्रदान गर्दै आएको ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान’ यस वर्ष शर्मालाई प्रदान गरेको हो ।
हेटौँडामा शनिबार आयोजित समारोहमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले शर्मालाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्रद्वारा सम्मनीत गर्नुभयो । खेल क्षेत्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई सो सम्मान प्रदान गरिएको हो ।
साहित्य, संस्कृति, कला, र खेलकुद जस्ता विविध क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई फाउन्डेसनले हरेक वर्ष सम्मान गर्दै आएको र यस वर्ष खेलकुद क्षेत्रमा ४० वर्षदेखि योगदान दिँदै आउनुभएकी शर्मालाई सम्मानित गरिएको हो ।
वि.सं. २०४० को दशकबाट खेल यात्रा सुरु गर्नुभएकी शर्माले राष्ट्रिय प्रतियोगिताहरू हुँदै अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा नेपालको पहिचान स्थापित गर्नुभएको छ । उहाँले दक्षिण एसियाली तथा विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा रेफ्रीको भूमिका कुशलतापूर्वक निर्वाह गर्नुका साथै प्रशिक्षकका रूपमा नयाँ खेलाडी उत्पादन र महिला सशक्तीकरणमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ ।
सम्मान कार्यक्रममा पूर्व मुख्यमन्त्री पौडेलले मकवानपुरको कम्युनिष्ट आन्दोलनमा स्वर्गीय श्रीचन्द्र शर्माको योगदानको चर्चा गर्नुभयो । पौडेलले मकवानपुरको कम्युनिष्ट आन्दोलनमा स्वर्गीय श्रीचन्द्र शर्माले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो । यस्तै उहाँले फाउन्डेसनले मदन भण्डारीद्वारा प्रतिपादित ’जनताको बहुदलीय जनवाद’ (जबज) को मर्मलाई नयाँ पुस्तासम्म पु¥याउन र सामाजिक–आर्थिक रूपान्तरणकालागि खेलेको भूमिको प्रशंसासमेत गर्नुभयो ।
फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालले साहित्य, कला र खेलकुद जस्ता विविध क्षेत्रमा समर्पित व्यक्तित्वलाई सम्मान गर्ने परम्परा अनुसार यस पटक ’मकवानपुरकी गौरव’ शर्मालाई छनोट गरिएको जानकारी दिनुभयो । शर्माले दक्षिण एशियाली तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा रेफ्रीको भूमिका निर्वाह गर्दै नेपालको प्रतिष्ठा उकास्न योगदान पु¥याउनुका साथै महिला खेलकुदको प्रवद्र्धन र सशक्तीकरणमा सक्रिय रहँदै आउनु भएको उहाँले बताउनुभयो । कार्यक्रमका अन्य वक्ताहरूले समेत खेलकुदको माध्यमबाट देशको प्रतिष्ठा उकास्न र महिलाहरूलाई खेल क्षेत्रमा प्रोत्साहित गर्न शर्माले पु¥याएको दीर्घकालीन योगदानको प्रशंसा गर्नुभएको थियो ।











