मकवानपुर, श्रावण १८ । बागमती प्रदेशका मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुख कार्यालयमा बुझाईएको छ । हिजो हेटौंडामा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्नुभएका लामाको राजिनामा पत्र सोमबार (आज) प्रदेश प्रमुखको कार्यालयमा बुझाईएको हो ।
मुख्यमन्त्री बाहादुर सिंह लामा तामाङका स्वकीय सचिव क्षत्रबहादुर लामाले आज प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई राजीनामा पत्र बुझाउनु भएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मिति २०८२ साल श्रावण १८ गते देखि लागु हुने गरी नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम राजीनामा दिनुभएको जानकारी दिनुभयो । प्रदेश प्रमुख देवकाेटा भने, स्वास्थय उपचार गराएर हेटाैंडा फर्किसक्नु भएकाे छ ।
यसअघि आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिने घोषणा गर्नु भएको थियो । पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको र आफैँ वा स्वकीय सचिव मार्फत राजीनामा पत्र बुझाउने बताउनु भएको थियो । २०८१ साल साउन ९ गते मुख्यमन्त्री रूपमा नियुक्त भएका लामा हालै भएको संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियासँग पराजित भएपछि पदबाट राजिनामा दिनु भएको हो ।












