मकवानपुर, साउन १९ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख देवकोटाले मंगलबार दिउसो २ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नु भएको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आईतबारदेखि लागु हनेगरि नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम सोमबार प्रदेश प्रमुख कार्यालयमा लिखित राजीनामा बुझाउनु भएको थियो । त्यस पश्चात प्रदेश प्रमुख कार्यालयले विज्ञप्ती जारी गर्दै प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दाबी पेश गर्न आह्वान गरिएको हो ।
प्रदेश प्रमुको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “माननीय प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाज्यूले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम माननीय मुख्यमन्त्री बहादुर सिंह लामा तामाङज्यूले मिति २०८२।०४।१८ गते देखि लागु हुने गरी मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुभएकोले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि मिति २०८२।०४।२० गते मंगलबार दिनको २ः०० बजे भित्र माननीय प्रदेश प्रमुखज्यू समक्ष दाबी पेश गर्न आह्वान गर्नु भएको छ ।“










