मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार गाउँसभाको १७औं अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष सीता पुलामी मगरले चालु आर्थिक वर्षको भन्दा करिब १० करोड कम बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्ष २०७९/८० को बजेट ९७ करोड २७ लाख २८ हजार रुपैयाँ रहेको थियो भने आगामी आर्थिक वर्षका लागि यस वर्ष करिब १० करोड रुपैयाँले कम बजेट विनियोजन गरिएको छ ।

आय स्रोत
आगामी वर्षका लागि कुल आयमध्ये आन्तरिक स्रोत र बैंक नगदबाट २६ करोड २ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँट, समपुरक, सशर्त तथा विशेष अनुदान गरी ५२ करोड ५४ लाख ५४ हजार रुपैयाँ र प्रदेश सरकारबाट ८ करोड ९८ लाख ७४ हजार रुपैयाँ आउने अपेक्षा गरिएको छ । अन्य संस्थागत आन्तरिक अनुदानबाट १५ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ ।

व्यय योजना
व्ययतर्फ संघीय सरकारको सशर्त, विशेष र समपुरक अनुदान २३ करोड ८६ लाख, प्रदेश सरकारको समपुरक र सशर्त अनुदान ५ करोड ४३ लाख ४४ हजार रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले चालु प्रशासनिक खर्च र कार्यक्रम खर्चका लागि ११ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । विषयगत कार्यक्रमहरूमा ९ करोड ८३ लाख २८ हजार, वडा स्तरिय योजनाहरूमा ४ करोड ९० लाख, गाउँपालिका स्तरिय योजना र पूर्वाधार विकासमा २७ करोड ९४ लाख ६७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

मुख्य क्षेत्रहरूमा बजेट विनियोजन

  • पूर्वाधार विकास: ३३ करोड ११ लाख ८५ हजार
  • वित्तीय व्यवस्था, सुशासन तथा संस्थागत विकास: ६ करोड ४ लाख ३ हजार
  • आर्थिक विकास: ४ करोड ५५ लाख ४८ हजार
  • सामाजिक विकास: ३० करोड ४६ लाख ९३ हजार
  • वन, वातावरण तथा विपद् व्यवस्थापन: १ करोड ४५ लाख ६० हजार
  • कार्यालय सञ्चालन तथा प्रशासनिक दायित्व: १२ करोड ८ लाख ५० हजार

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको पनि उपस्थिती रहेको थियो । मनहरी गाउँपालिकाले समृद्ध र दिगो विकासका लागि पूर्वाधार र सामाजिक क्षेत्रमा बढी लगानी गर्दै आगामी वर्ष बजेट तयार गरेको छ ।