बागमती प्रदेश सरकारले प्रदेश २ सँग जोडिएको सम्पूर्ण नाका सिल गर्न आग्रह गरेको छ । मंगलबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सँग जोडिएको मकवानपुरको चुरिया नाकासहित सम्पूर्ण नाकालाई तत्काल सिल गर्न संघीय सरकारलाई आग्रह गरेको हो ।
विशेष गरी तराईका जिल्लाहरु बारा, पर्सा र रौतहटमा कोरोना संक्रमणको दर बढेसँगै वाग्मती प्रदेशमा यात्रुहरुलाई भित्रिन नदिनका लागि तत्काल प्रदेशको नाका सिल गर्न संघीय सरकारलाई आग्रह गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिनुभयाे । ‘प्रदेश सरकारसँग सिल गर्ने अधिकार छैन । त्यसकारण हामीले संघीय सरकारलाई आग्रह गरेका हौं,’ उहाँले भन्नुभयाे । उहाँका अनुसार विभिन्न सवारीमार्फत तराइका जिल्लाबाट बागमती प्रदेश भित्रिने यात्रुको संख्या बढिरहेको कारण प्रदेश सरकारले संघीय सरकारलाई यस्तो आग्रह गरेको हो । मन्त्रिपरिषद्को बैठकले एम्बुलेन्स तथा अन्य साना सवारीहरुले तराइका जिल्लाबाट यात्रु वाग्मती प्रदेशमा ल्याइरहेको सूचना आएकाले उनीहरुलाई थप निगरानी र जाँचमा समेत कडाई गर्न निर्देशन दिएको छ ।