हेटौँडा – झरना साहित्यिक परिवार मकवानपुरले आगामी फागुन २७ र २८ गते बकैया कला–साहित्य महोत्सव २०७८ आयोजना गर्ने भएको छ । सोमवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी फागुन २७ र २८ गते बकैयामा महोत्सव गर्ने बताएको हो ।
बकैया गाउँपालिकाको ५ लाख आर्थिक सहयोगमा हुन लागेको महोत्सव बकैया–३, हात्तीसुँडे स्थित बुद्ध माविको प्राङ्गण र बकैया गाउँपालिकाको सभाहलमा हुने बताएको छ । दुई दिवसीय महोत्सवमा कविता, गजल, मुक्तक साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको झरना साहित्यिक परिवार मकवानपुरका सचिव मसान उपासकले बताउनुभयो ।
यस्तै देशभरबाट ५० जना साहित्यकार सहभागीतामा हुनलागेको कार्यक्रममा साहित्यकार, साहित्यसेवी, कलाकार, नवप्रतिभा तथा संस्थालाई समेत विभिन्न पुरस्कारबाट सम्मान गरिने सचिव उपासकले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष दिपक गौतमले २०५० साल फागुन १२ गते तत्कालीन छतिवन गाविसमा स्थापना भएको झरनाले प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत् साहित्य गोष्ठी आयोजना गर्दै आईरहेको जानकारी गराउनुभयो । भने पछिल्ला दुई वर्ष (२०७६) देखि स्थानीय कलासंस्कृतिको समेत जगेर्ना गर्ने उद्देश्यले बकैया कला–साहित्य महोत्सव गरिने आयोजना गर्दै आइरहेको अध्यक्ष गौतमले बताउनुभयो ।