मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूले जीवनमा हार्ने र फेल हुने कुरा नजानेको बताउनुभएको छ । बागमती प्रदेशसभाको तेस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले जिवनमा हार भन्ने कुरा आफूले बेहोर्न नै नपरेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेकोप्रति लक्षित गर्दै भन्नुभयो–“लोकतन्त्रमा अविश्वासको प्रस्ताव आउनु स्वभाविक हो ।” अन्य प्रदेशको तुलनामा यस प्रदेशमा सबैभन्दा धेरै विधेयक पारित भएको भन्दै उहाँले लोकसेवा आयोग गठन गरेर काम सुरु गरिएको र सुशासनप्रति आफूहरु सचेत रहेको बताउनुभयो । उहाँले बेरुजु रकम अन्य प्रदेशको तुलनामा अत्यन्त कम रहेको मुख्यमन्त्री पौडेले बताउनुभयो । पछिल्लो एक वर्षमा प्रदेशसभाभित्र धेरै राम्रा काम भएको मुख्यमन्त्री पौडेलको भनाई थियो ।

प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख आतिथ्यता थियो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख प्रसाईले समृृद्धि प्राप्तीका लागि सबेको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले जनतालाई केन्द्रमा राखेर जनताप्रति भरोसा दिलाउने विकासका पूर्वाधार र आर्थिक समृद्धि ल्याउने कार्यमा सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्नु आबश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको काम सहकार्य र समन्वयबाट मात्र भएको बताउनुभयो । सरकारले गरेका काम जनताका निम्ति भएको भन्दै उहाँले सबैको सहयोग निरन्तर हुनेमा विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले दिएको कानुन निर्माणका काम प्रदेशसभाले गरेको बताउनुभयो । प्रदेश नरहे संघीयता नरहने भन्दै उहाँले संघीय व्यबस्थाप्रति आमनागरिकले विश्वास गरेको उहाँको भनाई थियो । कार्यक्रममा प्रदेशसभा बैठकमा नियमित उपस्थित हुने ७ जना प्रदेश सभा सदस्य तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।